लण्डन / चाल्र्टन नेपाली समाज युकेले समाजको दोश्रो वाषिर्क भेटघाट तथा समर बिबिक्यु कार्यक्रम विशेष तामझामका साथ सम्पन्न गरेको छ । विशेषगरी बालबच्चाहरुलाई प्रोत्साहन दिन लक्षित कार्यक्रममा स-साना बालबच्चाहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसै वर्षदेखि नेपाली भाषा कक्षा समेत सञ्चालन गरेको समाजले उनीहरुलाई नेपाली भाषाप्रतिको आकर्षण जगाउन सम्मान समेत गर्यो ।
चाल्र्टनस्थित खुल्ला पार्कमा आइतबार सम्पन्न कार्यक्रममा स-साना बालबच्चाहरुको प्रस्तुति हेर्न लायक थियो । बेलायतमा जन्मिएर पनि नेपाली गीतमा नाच्न, गाउन र नेपाली परिवेशको चित्रण गर्न समेत उनीहरु सफल भए ।
कार्यक्रमपछि युरोपको नेपालीपत्रसँग कुरा गर्दै समाजका अध्यक्ष सुरज केसीले चाल्र्टनवासीहरुबीच भेटघाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । समाजले वर्षमा महिलाहरुका लागि तिज, बालबच्चाका लागि नेपाली भाषा कक्षा र सबैका लागि समर भेटघाट कार्यक्रम गर्ने उनले जानकारी दिए । गि्रनवीच क्षेत्रबाट नेपालीहरुको बाक्लो सहभागिताले कार्यक्रम सफल भएको उनको भनाइ थियो ।
त्यस्तै, समाजका सल्लाहकार एलएन पाण्डेले कार्यक्रम असाध्यै सौहार्द्धपूर्ण र रमाइलो वातावरणमा सम्पन्न भएको बताए । खानपिन, नाचगान र खेदकुद कार्यक्रमका थप आकर्षण भएको पाण्डेको कथन थियो ।
कार्यक्रममा नेपाली कक्षासम्बन्धी जानकारी गराउँदै सल्लाहकार फत्त थापाले नेपाली भाषा कक्षा सञ्चालनको एक सातामै अभिभावक र बालबच्चाहरुबाट राम्रो प्रतिक्रिया पाएको बताए । भाषा कक्षाबाट करिब चार दर्जन बालबालिकाहरु लाभान्वित भएको समेत उनले जानकारी दिए ।
सो अवसरमा भाषा कक्षा सञ्चालनमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।
यसैबीच, कार्यक्रमका सहभागीहरुले भलिबल खेलको मज्जा समेत लिए । तीन वटा टीम सहभागी भएको सो प्रतियोगिताले कार्यक्रममा थप रौनकता थपेको थियो ।